मिथिला महाकुम्भ यात्राको तयारी
12 महीना पहिले प्रकाशित
Esandhyakalin
महोत्तरी, फागुन ११ गते । मधेसको महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्र अहिले भक्ति र समर्पणका दुई महापर्वमा जुटेको छ । यहाँ अहिले महाशिवरात्रि पर्व र मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाको तयारी छ ।
फागुन कृष्णपक्षको त्रयोदशी तिथिका दिन मनाइने महाशिवरात्रि पर्व र दुई दिनलगत्तै औँसीका दिन सुरु हुने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको तयारीमा मैथिल (मिथिलाका बासिन्दा) छन् । यसपालि आउने बुधबार महाशिवरात्रि पर्व मनाइने र त्यसको दुई दिनपछि शुक्रबार मिथिला माध्यमिकी परिक्रमा सुरु गरिँदै छ ।
“फूल र बेलपत्र चढाएर माध्यमिकी यात्रा पूरा गर्ने याचना गर्नु छ”, महाशिवरात्रि पर्वलगत्तै मिथिला माध्यमिकी परिक्रमाको तयारीमा रहनुभएका भङ्गाहा–४ रामनगरका ६५ वर्षीय लाली महतो भन्नुहुन्छ । महतोकै जस्तो अहिले महाशिवरात्रि पर्वका लागि महोत्तरी जिल्लाका गाउँगाउँमा बुँदे महापर्वबारे चासो र चर्चा बढेको छ । यसैगरी शिवालयमा पनि अहिले उत्सवको तयारी बढेको छ । जिल्लाका सबैजसो शिवालय अहिले पर्वविशेषमा सरसफाइसँगै रङरोगन गरिँदैछन् ।
सदरमुकाम जलेश्वर–१ स्थित जलेश्वरनाथ, बर्दिवास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ, भङ्गाहा–५ स्थित सिद्धनाथ, सोनमा–७ मगरथानास्थित मङ्गलनाथ र सम्सी गाउँपालिकाको गेढाभेटपुरस्थित धष्नेश्वरनाथसहितका शिवालयमा महाशिवरात्रि पर्वको चहलपहल बढेको छ । यसैगरी बर्दिबास–१४ स्थित कामेश्वरनाथ र बर्दिबास–३ राइमण्डलस्थित इन्द्रेश्वरनाथ महादेव मन्दिरमा पनि पर्वको तयारीले चहलपहल बढाएको छ । यी शिवालयमा महाशिवरात्रि पर्वका लागि मन्दिर व्यवस्थापन र सर्वसाधारण आवश्यक तयारीमा जुटेका छन् । महाशिवरात्रि पर्वका लागि स्थानीय तयारी थालिएको टुटेश्वरनाथ मन्दिर मेला व्यवस्थापन समितिका संयोजक तथा बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाले जानकारी दिनुभयो ।
मिथिलामा फागुन कृष्ण द्वादशीदेखि चतुर्दशीसम्म महाशिवरात्रि मेला आयोजन गरिने परम्परा छ । पर्व नजिकिएसँगै पर्वविशेषमा हुने किनबेचका सामग्री अहिले मन्दिर परिसर नजिक सजाइन थालिएका छन् । पर्वविशेषमा भाकलको भाण्टाभार, बेलपत्र र फूलपाती बेचेर केही आर्जन गर्ने जोहोमा सर्वसाधारण लागेका छन् । यसपालि महाशिवरात्रि पर्वमा १० हजार भाण्टाका भार बेच्ने तयारी गरेको भङ्गाहा–४ रामनगरका बहुरा महतो बताउनुहुन्छ ।
मिथिलामा महाशिवरात्रि पर्व सम्पन्न गरिएलगत्तै दुई दिनपछि सुरु हुने फागुन शुक्लपक्षभरि मिथिला माध्यमिकी परिक्रमाको उत्सव मनाइन्छ । फागुन औँसीकै दिन सुरु हुने मिथिला माध्यमिकी परिक्रमामा महोत्तरी, धनुषा र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लासहित एक सय ३३ किलोमिटरको वृत्तभित्र १५ ठाउँमा रात्रिबास गरेर मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरिने परम्परा छ । अहिले आफ्नो ठाउँमा महाशिवरात्रि र मिथिला माध्यमिकी परिक्रमाको पाँचौँ दिनको रात्रि विश्रामको चाँजो मिलाउन अन्तिम तयारी भइरहेको जलेश्वर नगरप्रमुख सुरेश साह सोनारको भनाइ छ ।
अवधकिशोर (मिथिलामा श्रीरामलाई मिथिलाविहारी र अवधकिशोर पनि भनिन्छ) र किशोरीजी (सीताजी)का प्रतिमा राखिएका डोला अघि लगाएर १५ दिन मिथिला क्षेत्रभित्रका तीर्थस्थलहरूको दर्शन गर्दै नाङ्गा खुट्टाले पैदल हिँडेर गरिने यो यात्रा मिथिलाको महाकुम्भ मानिन्छ । फागुन पूर्णिमाका दिन यो यात्रा सम्पन्न गरेसँगै होलिका दहनको धुरा उडाएर (होलिका राक्षसीको आकृति डढाएर त्यसको खरानी उडाइने चलन) त्यसको भोलिपल्ट हिन्दू धर्मावलम्बीले फागु अर्थात् होलीपर्व मनाउनेछन् । यो पर्व परम्परा मिथिलामा रामसीताको वनविहार र सत्ययुगमा राक्षसराज हिरण्यकशिपु र उनका विष्णुभक्त छोरा प्रह्लादसँग जोडिएका प्रसङ्ग पाइने गरेको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त डा रवीन्द्रदास वैष्णब बताउनुहुन्छ ।
मिथिला माध्यमिकी परिक्रमामा महोत्तरीका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनसहित पाँचवटा रात्रि विश्रामस्थल रहँदै आएका छन् । त्यसैगरी धनुषामा छ रात्रिविश्राम र भारतको मधुवनी जिल्लामा चार रात्रिविश्रामको परम्परा छ । नेपाल र भारतका हजारौँ साधुसन्त सहभागी हुने यो मिथिलाको महाकुम्भमा परिक्रमाका यात्रीको बासस्थान, प्राथमिक उपचार, भोजन र आपतकालीन सेवाका लागि रात्रिविश्रामस्थल रहेका ठाउँमा स्थानीय तह, मठमन्दिर व्यवस्थापन, सामाजिक सङ्घसंस्था र व्यक्तिहरूले स्वेच्छिक प्रबन्ध गर्ने गरेका छन् । माध्यमिकी परिक्रमाको संयोजन पछिल्ला दुई दशकयता विभिन्न मठमन्दिर व्यवस्थापनको समन्वयमा बृहत्तर जनकपुर क्षेत्र विकास कोष (परिषद्)ले गर्दै आएको छ ।
यी बुँदे मिथिलाका महापर्व मानिन्छन् । महाशिवरात्रि मेला र मिथिला माध्यमिकी परिक्रमा मेला लाग्ने ठाउँ नजिकका बस्तीहरूमा घरघरैजसो मेलाउत्सव हेर्न आउने पाहुना भरिभराउ हुन्छन् । यी पर्व भन्नासाथ मेला हुँदै आएका ठाउँ नजिकका बस्तीका बासिन्दा आउने पाहुनाको स्वागत, खानपान र विश्रामको चाँजोमा केही दिन पहिलेदेखि नै लाग्ने गर्छन् । मिथिला क्षेत्र अहिले यी बुँदे महापर्वको तयारीमा जुटेको देखिँदो छ । यहाँ यो भेटघाट र कुशलक्षम बुझ्ने अवसर पनि रहँदै आएको मिथिला लोकपरम्पराका जानकार जलेश्वर–५ का ध्रुव राय बताउनुहुन्छ ।
साभार: रेडियो नेपाल
राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्रीबीच भेट
टोकियो, माघ २० : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ नि..
23 घन्टा पहिले
सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदबाट फिर्ता लि..
काठमाडौं, माघ २० : सरकारले सामाजिक सञ्जालको संचालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बन..
23 घन्टा पहिले
राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते न..
काठमाडौँ ,कार्तिक १२ गते । सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते आइतबारका दिन निर्वाच..
3 महीना पहिले
मधेश प्रदेशमा समुद्री आँधी “मोन्था” को उच्च जोखिम, सजग र..
जनकपुरधाम,कार्तिक १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा प्रदेश विपत व्यवस्थापन क..
3 महीना पहिले
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..
काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..
3 महीना पहिले
-
सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदबाट फिर्ता लिने सरकारको निर्णय
-
राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते निर्वाचन
-
मधेश प्रदेशमा समुद्री आँधी “मोन्था” को उच्च जोखिम, सजग रहन मुख्यमन्त्रीको अपिल
-
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नयाँ नेतृत्वको मुद्दा यसैले सम्बोधन गर्छ