
स्व. रामनारायण स्मृति भवन निर्माणमा विवाद- शिलान्यासलगत्तै ताेडफाेड
1 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, वैशाख ३ गते । स्व. रामनारायण मिश्र स्मृति भवन निर्माण विवादित बनेको छ । जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको पूर्वी डिलमा स्मृति भवन निर्माण गर्न लाग्दा विरोध सुरु भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका र नेपाली काँग्रेसका नेताहरु स्मृति भवन निर्माण गंगासागर पोखरीको पूर्वी डिलमै हुनुपर्ने अडानमा छन् । उनीहरु एक समारोहबीच स्मृति भवनको शिलान्यास समेत आज गरियो । तर अर्को पक्षले भने त्यहाँ स्मृति भवन बनाउन नहुने भन्दै शिलान्यास स्थलमा तोडफोड गरेका छन् ।
जनकपुरधामकै उपप्रमुख किशोरी साह रामनारायण मिश्र स्मारक समितिका संयोजक हुन् । उनकै अगुवाइमा आज एक समारोहबीच पण्डितद्वारा निर्माण कार्य प्रारम्भ गरियो । पूजापाठ सकेलगत्तै सुरक्षार्थ खटेका प्रहरीलाई छलेर केही युवाहरु निर्माणस्थलमा तोडफोड गरेका छन् ।
नेकपा एमालेका जनकपुरधाम नगर कमिटी सचिव राजु कुमार साहकै अगुवाइमा स्थानीयले गंगासागर पोखरीको डिलमा स्मृति भवन निर्माण गर्न नहुने भन्दै विरोध गरिरहेका छन् । उनीहरुकै समूह निर्माणस्थल पुगेर तोडफोड गरेको बुझिएको छ ।
एमालेका एक नेताले भने, ‘रामनारायण मिश्र स्मृति भवनको विरोध हामीले गरेको छैन । निर्माण स्थल सही चयन गर्नुपर्ने मात्र हाम्रो भनाइ छ । गंगासागर पोखरीको डिलमा नभएर अन्य ठाउँमा स्मृति भवन बनाए हामीलाई कुनै आपत्ति हुने छैन ।’
जनकपुरधामका नगर प्रमुख मनोज साह र उपप्रमुख किशोरी साह दुवैजना काँग्रेसकै छन् । उनीहरु मात्र होइन, काँग्रेस नेता विमलेन्द्र निधी, प्रदेश सांसद रामसरोज यादवलगायतका नेताहरु गंगासागर पोखरीको पूर्वी डिलमै स्मृति भवन बनाउने अडानमा छन् । त्यसैले स्मृति भवन निर्माण कार्य जुँगाको लडाईंमा परिणत भएको छ ।
गुठी संस्थानको पत्रको बेवास्ता
रामनारायण मिश्र स्मृति भवन निर्माण तत्काल नगर्न गुठी संस्थानले समितिका संयोजक साहलाई पठाएको । संस्थानले ०८१ चैत ३१ मै समिति संयोजक साहलाई पत्र पठाउँदै तत्काल निर्माण कार्य अगाडी नबढाउन भनेको छ ।
गंगासागर पोखरीको डिलसँग जोडिएको जग्गामा नियमानुसार नक्सा पास विना केहि संरचना निर्माण गर्न लागिको भन्ने जानकारी प्राप्त भएकाले सो सम्बन्धमा गुठी तैनाथी जग्गामा रहेको पोखरी र डिलको क्षेत्रफल यकिन गरी मात्र निर्माण कार्य गर्नुपर्ने हुँदा सो नहुँदासम्म कुनै पनि संरचना निर्माण कार्य नगरी नगराइदिनु हुन अनुरोध गर्दै गुठी संस्थान जनकपुरधाम शाखा प्रमुख आनन्द प्रसाद कर्माचार्यले पत्र काटेका छन् ।
तर गुठी संस्थानको पत्रको समेत बेवास्ता गर्दै समिति संयोजक साहले स्मृति भवन निर्माण कार्य अगाडि बढाएका छन् । मिश्रको समाधीस्थल यहाँ नै रहेकाले उनको स्मृति भवन निर्माण अगाडि बढाएको साहको दावी छ ।
स्मृति भवन निर्माणको ठेक्का भौतिक पूर्वाधार विकास कार्यालय जनकपुरधामबाट एम÷एस कर्मा बाबा जेभी जलेश्वर २, महोत्तरीले पाएको छ । ०८२ फाल्गुन २८ गतेभित्र स्मृति भवन निर्माण सकाउनेगरी सो कम्पनीले ५ करोड ७४ लाख ९६ हजार १२२ रुपैयाँ १९ पैसामा ठेक्का सकारेको हो ।
को हुन् स्व. रामनारायण मिश्र ?
रामनारायण मिश्रको जन्म महोत्तरीको पिपरा गाउँमा १९७९ जेठ २३ गते भएको थियो । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा महोत्तरीबाट विजयी भएका मिश्र विपी कोइरालाको जननिर्वाचित मन्त्रिमण्डलमा उद्योग मन्त्री भएका थिए ।
मिश्रकै पालामा जनकपुर चुरोट कारखाना, वीरगञ्ज चीनी मिल, कृषि औजार तथा छाला उद्योगसहितका दर्जनौं उद्योगहरु (जो अहिले बन्द भइसकेको छ) स्थापना भएको काँग्रेस नेताहरुको दावी छ ।
मिश्रको निधन २०२४ पुष ६ मा भयो । उनको पहिलो स्मृति दिवस २०२५ पुस ६ मै काँग्रेसका तत्कालिन दिग्गज नेता गणेशमान सिंहले स्मृति भवन निर्माणको संकल्प लिएका थिए । तर लामो समयपछि निर्माण हुन लागेको स्मृति भवन पनि विवादित बनेको छ ।

धनुषाको वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरी..
जनकपुर, जेठ ३ : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रम्दैयास्थित वान्डरल्याण्ड वाटर पार्कमा विद्यार्थी र प्रह..
10 घन्टा पहिले
‘लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छै..
काठमाडौं, जेठ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको प्रतिनिधित्व सुनिश्चित भएको समावेशी सिद्धा..
10 घन्टा पहिले
गैरसरकारी संस्थाको शहीद नगरपालिका स्तरीय समिक्षा गोष्ठ..
चन्दन ठाकुर जनकपुर, २ जेठ । वालिका सशक्तिकरण परियोजना प्रारम्भिक वाल विकास सम्बन्धि शहीद नगरपालिका स्तरीय समिक्..
1 दिन पहिले
वालवालिका सशक्तिकरण परियोजनाको अनुगमन
चन्दन ठाकुर जनकपुरधाम, २ जेठ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सर्पोट नेपालको सहजीकरणमा धनुषाको श..
1 दिन पहिले
महालेखाद्वारा प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पे..
जनकपुरधाम ,जेठ १ गते । महालेखा परीक्षकको कार्यालयले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष ..
2 दिन पहिले