Janakpurdham
Thu, Sep 24, 2026
`

विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

महोत्तरी,  मङ्सिर १२  गते । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । आइतबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्य ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाहमहोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने प्राचीन परम्परा हो ।महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात मटिहानी, दोस्राे रात जलेश्वर , तेस्राे रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो । यसक्रममा दिवा र रात्रि भोजनका स्थल निर्धारित भएबमोजिम स्थानीयले अहोभावले स्वागत गर्दै भोजन, विश्रामको चाँजो मिलाउने परम्परा रहेको पिपरा गाउँपालिकाको बनौली गाउँका ६५ वर्षीय वैद्यनाथ चौधरी सम्झनुहुन्छ । यो पुरानो परम्परा भने अब हराउँदै गएर केही साधुसन्त पञ्चमीको एक दिनपूर्व मटिहानी पुग्ने र महोत्सवको मुख्य दिन पञ्चमी तिथिमा जलेश्वर हुँदै जनकपुर जान थालेका छन् । मान्छेको व्यस्तता बढेर पुरानो पुस्ताको अनुसरण हुन छाडेको छ । मेला उत्सवको आकर्षण घट्दै गएर सीमित सङ्ख्याका साधुसन्त र सर्वसाधारण श्रद्धालु आउने गरेका यात्राको बाटो क्षेत्र (मटिहानी–जलेश्वर–पिपरा–जनकपुर) का बासिन्दा बताउँछन् । कतिपय भारतीय साधुसन्त त आज नै सीमा नाकाबाट नेपाल प्रवेश गर्दै सोझै जनकपुर पुग्दैछन् । पछिल्लो कालमा मेला उत्सवको भीडभाडमा असुरक्षाभाव बढ्दै गएर पनि महोत्सवमा उपस्थिति पातलिँदै गएको जलेश्वर–१० सारीकी सामाजिक कार्यकर्ता प्रियङ्का ठाकुर बताउनुहुन्छ ।  

विगत दुई वर्ष (२०७८,२०७७) कोभिड–१९ महाव्याधि सन्त्रासले नेपाल–भारत सीमा नाकामा आवतजावत ठप्प हुँदा भारतीय साधुसन्त महोत्सवका लागि नेपाल आएनन् । यसपालि विवाहपञ्चमी महोत्सवकै बेला यहाँको आमनिर्वाचनको मतगणना कतिपय ठाउँमा जारी नै रहँदा राजनीति सरगर्मीले विवाहपञ्चमी पर्वको चासो कम देखिएको यताका सर्वसाधारणको भनाइ छ ।जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेतायुगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला (विदेह) का राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो । हिन्दू परम्परामा श्रीराम विष्णुका अवतार र मर्यादा पुरुषाेत्तम कहलिन्छन् भने सीता लक्ष्मीकी अवतार र आदर्शनारीका रुपमा पूज्य छन् । जनकपुरधाममा सम्पन्न गरिने महोत्सवको साप्ताहिक तालिकामा जनकपुर दर्शन, फुलबारीलीला, धनुष भङ्ग र स्वयंवर, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवा विधि छन् । विवाहको भोलिपल्ट रामकलेवा विधिका दिन जन्ती भई आएका भारतीय साधुसन्तलाई मिष्टान्न भोजन गराई वस्त्राभूषण र दक्षिणा दिएर बिदाइ गरिने चलन छ । यी सबै विधिका मुख्य आयोजक जानकी मन्दिर व्यवस्थापन हो ।विवाह महोत्सवमा जानकी मन्दिरका महन्थ राजा जनकको र जनकपुरकै राम मन्दिरका महन्थ राजा दशरथको भूमिकामा हुन्छन् । समारोहमा मैथिल परम्पराअनुसार जन्ती र घरगाउँले तथा सम्धीसम्धीबीचको हाँस ख्यालठट्टा सहभागीका लागि मनोरञ्जक हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का साहित्य विषयका सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।प्राचीन मिथिलाको विवाह पद्धति, चालचलन र रीतिथिति सम्झाउने यो सांस्कृतिक पर्वको शाख ओइल्याउन दिन नहुने  पाका मैथिलको भनाइ छ । यसका लागि नयाँ पिढीका मैथिल युवाले अग्रसरता लिनुपर्ने महोत्तरीकै बलवा नगरपालिकाको धमौरा बस्तीका बासिन्दा मैथिल संस्कृति र परम्पराका जानकार ७० वर्षीय कामेश्वर झाको सुझाव छ ।साभार गोरखापत्र

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

13 घन्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

13 घन्टा पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

2 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

2 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

3 दिन पहिले