गर्मीको असरः ‘हिट स्ट्रोक’बाट बिरामी पर्न थाले
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
चितवन,जेठ २८ गते । जिल्लामा पछिल्लो केही दिनदेखि लगातार गर्मी बढ्दै गएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरका अनुसार आज चितवनमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको छ भने अघिल्लो दिन यो तापक्रम ३९ डिग्री पुगेको थियो ।
गर्मी बढेपछि जनजीवनमा प्रत्यक्ष असर पर्न थालेको छ । गर्मीका कारण यहाँका कतिपय स्थानीय निकायले विद्यालय बन्द गरेका छन् । दिउँसो सडक र बजार सुनसान देखिन थालेका छन् । विशेषगरी वृद्ध, बालबालिका र बाहिर खटिने श्रमिकमा यसको असर बढी परेको छ ।
भरतपुर महानगरपालिका वडा १०स्थित चौविसकोठीको सडक छेउमा पचपन्न वर्षीया चन्द्रकुमारी पुनमगर मकै पोलेर बिक्री गर्ने काम गर्छिन्। उनी भन्छिन् , दिनभर घाम र आगोका बीचमा बस्नुपर्छ, शरीर नै सिथिल हुन्छ । ग्राहक नै छैनन्, अहिले रु ५० मा एक घोगा मकै पनि बेच्न गाह्रो भएको छ ।” सडक सुनसान भएकाले पैदलयात्री र ग्राहकको सङ्ख्या घटेको देखिन्छ ।
सोही स्थानमा भेटिएका अटो चालक खलबहादुर मगरको कुरा पनि यस्तै छ । उनी भन्छन्, “रिक्साको छत र सडक दुवैको रापले काम गर्न मनै लाग्दैन । तर के गर्ने, घर चलाउनु नै छ । अहिले मान्छे हिँड्नै छाडे जस्तो छ ।”
त्रिचोकतर्फबाट पैदल आउँदै गरेका ४८ वर्षीय भगवान् शाहीले त गर्मीले थाकेर समयमै काममा पुग्न नसकेको गुनासो गर्छन्। “गर्मीले हिँड्नै सकिएन । केही दिनदेखि समयमा काममा पुग्न सकिएको छैन”, उनले भने, “अब त गर्मीमा हिँड्दा दुई जोर कपडा लिएर हिँड्नुपर्छ, पसिना भिजेपछि फेर्न ।”गर्मीका कारण स्वास्थ्यमा पनि असर देखिन थालेको छ ।
अस्पतालमा गर्मीसम्बन्धी समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको भरतपुर अस्पतालका फिजिसियन डा गोविन्द कँडेलले बताए।
उनका अनुसार अत्यधिक गर्मी र हावामा आद्रता धेरै हुँदा पसिना नआउने समस्या हुन्छ, जसले गर्दा शरीरको भित्री तापक्रम अत्यधिक बढ्छ । यस्तो अवस्था गम्भीर ‘हिट स्ट्रोक’मा परिणत हुन सक्छ ।
अहिले चितवनमा दुई जना व्यक्तिलाई हिट स्ट्रोक भएको पुष्टि भएको समेत उनले बताए । तीमध्ये एक जना चितवन मेडिकल कलेज (सिएमसी)शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचारपछि निको भएर फर्किसकेका छन् ।
त्यसैगरी, गर्मीमा दम, छातीका रोगी र सङ्क्रमणजन्य रोग पनि सक्रिय हुनसक्ने उनले बताए । अहिले झाडापखाला र बान्ताका बिरामी केही देखिए पनि मुख्य रूपमा टाइफाइड र ज्वरोका बिरामी बढी देखिन थालेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशका केही पूर्वी भागमा वर्षा भइरहेको छ भने चितवनजस्ता स्थानमा हावामा पानीका कण धेरै भएकाले तापक्रम कम भए पनि आद्रताका कारण मानिसले बढी जस्तो महसुस गर्ने अवस्था हुन्छ । यसलाई प्राविधिक भाषामा ‘फिल लाइक टेम्परेचर’ भनिन्छ ।
फिजिसियन डा कँडेलले दिउँसोको समयमा अत्यधिक गर्मी हुँदा बाहिर काम नगर्न, सकेसम्म घरभित्र वा छायाँमा बस्न, नियमित पानी पिउनु र शरीरलाई हाइड्रेटेड राख्नु अत्यावश्यक भएको बताउँछन्। उनले लामो बाहुला भएको कपडा लगाउने र कीरा–सर्पबाट जोगिन मोजा तथा जुत्ता लगाउनुपर्ने सुझाव दिनुभएको छ ।
मौसमविद लामिछानेका अनुसार आज रातिबाट वर्षाको सम्भावना बढ्दै गएको छ । यसले तापक्रम केही घटाउने आशा गरिएको छ । तापक्रम अझै केही दिन उच्च नै रहने भएकाले स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।
साभार : नेपाल प्रेस
.jpg)
सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ
रामेछाप, असार १३ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन्। मन्थ..
3 घन्टा पहिले
असार २२ देखि अरनिको राजमार्ग १५ दिन राति बन्द हुने
काभ्रे, असार १३ : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो ..
3 घन्टा पहिले
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
काठमाडौँ ,असार १२ गते । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्..
1 दिन पहिले
मुस्लिम धर्मावलम्बीहरूले वीरगंजमा मोहरम पर्व धुमधामका ..
वीरगंज ,असार १२ गते। मुस्लिम धर्मावलम्बीहरूले आज वीरगंजमा मोहरम पर्व धुमधामका साथ मनाएका छन् । हसन र हुसेनको..
1 दिन पहिले
वीरगञ्जमा असार २१ गते ‘रोजगार मेला–२०८३’ को आयोजना गरिँ..
वीरगञ्ज ,असार १२ गते। नेपाल उद्योग वाणिज्य महासङ्घ नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश र वीरगञ्ज उद्योग..
1 दिन पहिले