विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
महोत्तरी, मङ्सिर १२ गते । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । आइतबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्य ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाहमहोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने प्राचीन परम्परा हो ।महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात मटिहानी, दोस्राे रात जलेश्वर , तेस्राे रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो । यसक्रममा दिवा र रात्रि भोजनका स्थल निर्धारित भएबमोजिम स्थानीयले अहोभावले स्वागत गर्दै भोजन, विश्रामको चाँजो मिलाउने परम्परा रहेको पिपरा गाउँपालिकाको बनौली गाउँका ६५ वर्षीय वैद्यनाथ चौधरी सम्झनुहुन्छ । यो पुरानो परम्परा भने अब हराउँदै गएर केही साधुसन्त पञ्चमीको एक दिनपूर्व मटिहानी पुग्ने र महोत्सवको मुख्य दिन पञ्चमी तिथिमा जलेश्वर हुँदै जनकपुर जान थालेका छन् । मान्छेको व्यस्तता बढेर पुरानो पुस्ताको अनुसरण हुन छाडेको छ । मेला उत्सवको आकर्षण घट्दै गएर सीमित सङ्ख्याका साधुसन्त र सर्वसाधारण श्रद्धालु आउने गरेका यात्राको बाटो क्षेत्र (मटिहानी–जलेश्वर–पिपरा–जनकपुर) का बासिन्दा बताउँछन् । कतिपय भारतीय साधुसन्त त आज नै सीमा नाकाबाट नेपाल प्रवेश गर्दै सोझै जनकपुर पुग्दैछन् । पछिल्लो कालमा मेला उत्सवको भीडभाडमा असुरक्षाभाव बढ्दै गएर पनि महोत्सवमा उपस्थिति पातलिँदै गएको जलेश्वर–१० सारीकी सामाजिक कार्यकर्ता प्रियङ्का ठाकुर बताउनुहुन्छ ।
विगत दुई वर्ष (२०७८,२०७७) कोभिड–१९ महाव्याधि सन्त्रासले नेपाल–भारत सीमा नाकामा आवतजावत ठप्प हुँदा भारतीय साधुसन्त महोत्सवका लागि नेपाल आएनन् । यसपालि विवाहपञ्चमी महोत्सवकै बेला यहाँको आमनिर्वाचनको मतगणना कतिपय ठाउँमा जारी नै रहँदा राजनीति सरगर्मीले विवाहपञ्चमी पर्वको चासो कम देखिएको यताका सर्वसाधारणको भनाइ छ ।जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेतायुगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला (विदेह) का राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो । हिन्दू परम्परामा श्रीराम विष्णुका अवतार र मर्यादा पुरुषाेत्तम कहलिन्छन् भने सीता लक्ष्मीकी अवतार र आदर्शनारीका रुपमा पूज्य छन् । जनकपुरधाममा सम्पन्न गरिने महोत्सवको साप्ताहिक तालिकामा जनकपुर दर्शन, फुलबारीलीला, धनुष भङ्ग र स्वयंवर, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवा विधि छन् । विवाहको भोलिपल्ट रामकलेवा विधिका दिन जन्ती भई आएका भारतीय साधुसन्तलाई मिष्टान्न भोजन गराई वस्त्राभूषण र दक्षिणा दिएर बिदाइ गरिने चलन छ । यी सबै विधिका मुख्य आयोजक जानकी मन्दिर व्यवस्थापन हो ।विवाह महोत्सवमा जानकी मन्दिरका महन्थ राजा जनकको र जनकपुरकै राम मन्दिरका महन्थ राजा दशरथको भूमिकामा हुन्छन् । समारोहमा मैथिल परम्पराअनुसार जन्ती र घरगाउँले तथा सम्धीसम्धीबीचको हाँस ख्यालठट्टा सहभागीका लागि मनोरञ्जक हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का साहित्य विषयका सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।प्राचीन मिथिलाको विवाह पद्धति, चालचलन र रीतिथिति सम्झाउने यो सांस्कृतिक पर्वको शाख ओइल्याउन दिन नहुने पाका मैथिलको भनाइ छ । यसका लागि नयाँ पिढीका मैथिल युवाले अग्रसरता लिनुपर्ने महोत्तरीकै बलवा नगरपालिकाको धमौरा बस्तीका बासिन्दा मैथिल संस्कृति र परम्पराका जानकार ७० वर्षीय कामेश्वर झाको सुझाव छ ।साभार गोरखापत्र
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी
जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..
9 घन्टा पहिले
स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..
वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..
9 घन्टा पहिले
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
1 दिन पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
1 दिन पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
2 दिन पहिले