Janakpurdham
Wed, Mar 25, 2026
`

अत्यधिक गर्मीले जनजीवन प्रभावित

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

धनुषा, जेठ १८  गते । धनुषासहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो । जनकपुरधामसहित तराई-मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ । 

घर बाहिर निस्कनै मुस्किल

सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ । चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् । 

बिरामी बढे

गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् ।प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा. केडी दासका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा दासको भनाइ छ ।डा. दासले भन्नुभयो, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ ।” दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको डा। दासको भनाइ छ । बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पर्दाथको सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन उहाँले सर्वसाधारणलाई सुझाव दिनुभयो ।

बन्द हुँदै विद्यालय बन्द

समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षाकोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको छ । क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक बाबुसाहेब यादवले अत्यधिक गर्मीले विद्यार्थीको छालामा समस्या देखिएको बताउनुभयो । “अत्यधिक गर्मीले विद्यार्थीको शरीरमा घमौरा, बिमिरा देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “घमौराले गर्दा शरीर चिलाउने गर्दा उनीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न समस्या पर्ने गरेको छ ।” समयसमयमा विद्युत् सेवा अवरुद्ध हुँदा पनि विद्यार्थीमा झनै समस्या देखिएको प्रअ यादवले बताउनुभयो ।गर्मीका कारण नानीबाबुलाई विद्यालय पुर्‍याउन र ल्याउनै समस्या पर्ने गरेको अभिभावक दिनेश गुप्ता बताउनुहुन्छ । “विद्यालयमा पङ्खा भए पनि गर्मीले साना नानीबाबुलाई घरबाट विद्यालय लैजान र घर ल्याउनै समस्या पर्ने गरेको छ”, गुप्ताले भन्नुभयो, “बिहान विद्यालय लैजान त सजिलै हुन्छ तर दिउँसो बिदा भएपछि घर ल्याउँदा बच्चा गर्मीले रातोपिरो भइसक्छन् ।” अभिभाव ज्योति झाले गर्मीका कारण नानीबाबु सुत्न नसक्ने र घरीघरी पानी पिउन खोज्ने गरेको बताउनुभयो । “समयसमयमा विद्युत् लाइन काटिँदा घरभित्रै बस्न सकिँदैन”, झाले भन्नुभयो ।

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

17 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

17 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

2 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

2 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

3 दिन पहिले