सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
सिरहा ,असार १९ गते । माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु आयातनिर्यात गर्ने व्यवसायी विराटनगर वा जलेश्वर पुग्नुपर्ने बाध्यात्मक अवस्था छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा मातहतका विभागले प्लान्ट क्वारेन्टिन प्रयोगाशालाको आवश्यकता औँल्याउँदै आए पनि त्यसले मूर्तरूप लिएको छैन ।
विसं २०७८ असोजमा कृषिजन्य वस्तुको निरीक्षण र परीक्षण गरी छोडपुर्जी दिने उद्देश्यले सिरहा, महेशपुर र सुठौली भन्सारमा प्लान्ट क्वारेन्टिन स्थापना गर्ने निर्णय भएको थियो ।कृषि तथा पशुपन्छी मन्त्रालय र प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवनमार्फत सम्बन्धित कार्यालयहरूमा प्राविधिक खटाउन पत्राचार पनि भएको थियो ।
उक्त निर्णय भएको लामो समय बितिसक्दा पनि प्लान्ट क्वारेन्टिनको व्यवस्था नहुनुले सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको माडरस्थित भन्सार कार्यालयका प्रमुख तोयानाथ सापकोटा बताउँछन् ।
हालै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव दीपक खरालको नेतृत्वमा आएको प्रतिनिधिमण्डल र भन्सार अधिकारीबीच प्लान्ट क्वारेन्टिन स्थापना गर्ने सम्बन्धमा छलफल भएको छ ।
“यही असारको ८ गते उहाँहरु आउनुभएको थियो । छलफलका क्रममा उहाँहरुले सम्बन्धित स्थानमा यथासक्य छिटो प्लान्ट क्वारेन्टिन सेवा सुरू गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ”, भन्सार अधिकृत सापकोटाले भने, “माडर, ठाडी र राजविराज भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन स्थापना गर्ने सम्बन्धमा स्थलगत अध्ययनसँगै छलफल भयो ।”
प्रमुख सापकोटाका अनुसार चोरी पैठारी भएका खाद्यान्न सामग्री लिलाम बिक्री गर्नुपूर्व प्रयोगशाला परीक्षण गर्नुपर्छ । अहिले ल्याब पनि नभएका र क्वारेन्टिन पनि नतोकिएका भन्सारहरुले खाद्य सामानको लिलाम गर्नुपूर्व ‘ल्याब टेस्ट’ गर्न असम्भव छ । सिरहा–सप्तरी क्षेत्रका कृषकहरूले उत्पादन गरेको आँप, लिचीलगायतको फलफूलको भारतीय बजारमा निर्यात गर्न ‘प्लान्ट क्वारेन्टिन’ आवश्यक छ ।
भन्सार प्रमुख सापकोटा भन्छन्, “यहाँको बगानमा उत्पादन भएको आँप रु २५–३० प्रतिकेजीमा उपलब्ध हुन्छ भने भारतको जयनगरमा हाम्रोभन्दा कमजोर गुणस्तरको आँप रु ७०–८० सम्म पर्छ । यस्तो अवस्थामा नेपाली किसानले लाभ लिनसक्ने वातावरण बनाउन र चोरी पैठारी–निकासी नियन्त्रण गरी राजस्व बढाउन पनि प्लान्ट क्वारेन्टिन ल्याब स्थापनाले निर्णायक भूमिका खेल्न सक्छ ।”
‘करको दर होइन, दायरा बढाउनुपर्छ’ भन्ने सरकारी नीति र बजेट वक्तव्यमा समावेश नारा कार्यान्वयन गर्नका लागि पनि प्लान्ट क्वारेन्टिन अनिवार्य भएको सापकोटा बताउँछन् ।
माडरमा पूर्वाधार उपलब्ध, तत्कालै सेवा सुरू गर्न सकिने
माडरस्थित पशु क्वारेन्टिन कार्यालयमा प्रशस्त जमिन र सुविधासम्पन्न भवन छ । त्यही भवनमा प्लान्ट क्वारेन्टिनको कार्यालय राख्न सकिने भएकाले अर्को भवन खोजिरहनु नपर्ने प्रमुख सापकोटा बताउँछन् । माडरमा प्लान्ट क्वारेन्टिन कार्यालय स्थापना भएमा माडर, ठाडी र राजविराजस्थित भन्सार कार्यालय पनि समेटिने छन् ।
प्रमुख सापकोटा भन्छन्, “प्लान्ट क्वारेन्टिन कार्यालय स्थापनाबाट व्यवसायी, कृषक र सरकार तीनै पक्षलाई फाइदा हुनेछ । हामीले बारम्बार पहल गर्दै आएका छौँ, आशा छ अब हाम्रो प्रयास सार्थक हुनेछ ।”
हाल कृषिजन्य वस्तु आयातनिर्यात गर्ने व्यवसायीले प्लान्ट क्वारेन्टिन सेवा नहुँदा विराटनगर र जलेश्वरसम्म पुग्नुपर्ने बाध्यता छ ।
साभार : नेपाल प्रेस

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
18 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
18 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले