
‘बालबालिकाको पोषण अवस्था कमजोर’
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

धनुषा, असार ६ गते । मधेश प्रदेशमा बालबालिकाको पोषणको अवस्था निकै कमजोर रहेको बताउँदै यस प्रदेशका बालबालिकाको पोषणमा सुधारका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याइएको छ। स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनकपुरधाममा मङ्गलबार आयोजना गरेको प्रदेशस्तरीय पोषण कार्यक्रम समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा सहभागी वक्ताहरूले यस्तो आवश्यकता औँल्याउनुभएको हो। अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा बालबालिकाको पोषणको अवस्था निकै कमजोर भएको भन्दै आठ वटा जिल्लामा पोषण सुधारका लागि सामूहिक प्रयासमा उहाँहरूले जोड दिनुभयो।नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष नाथुप्रसाद चौधरीले बायलोजिक फैक्ट्रीको रूपमा रहेको हामी सबैको मानव शरीरमा पोषणयुक्त खाना दिएमा मात्रै त्यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकोले बच्चालाई ‘जङ्क फुड’ खानबाट रोक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले रैथाने बालीको उत्पादन लोप हुन लागेकाले पोषणको अवस्था कमजोर बनेको पनि बताउनुभयो। पोषणको अवस्थामा सुधार ल्याउनका लागि अभिभावकहरूले पनि घरमा आफ्ना बालबालिकालाई घरेलु उत्पादनका खाद्य पदार्थहरू मात्रै खान दिने किसिमको वातावरण तयार पार्नुपर्ने उहाँले बताउनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेश प्रदेशका सचिव डा. प्रमोदकुमार यादवले मधेश प्रदेशमा छ महिनादेखि ५९ महिनाका बालबालिकामध्ये १० हजार बालबालिका कुपोषित रहेको तथ्याङ्क प्रस्तुत गर्दै त्यति कुपोषित भए पनि एक हजार बालबालिकाले मात्रै उपचार लिएको बताउनुभयो। मधेश प्रदेशका जिल्लामा कुपोषणलाई अभिभावकहरूले सामान्य रूपमा लिने गरेको भन्दै उहाँले कुपोषित भएका बच्चामा क्षयरोग, निमोनिया जस्ता रोगहरू लाग्ने गरेको बताउनुभयो। उहाँले पोषण सुधारका लागि आगामी वर्ष मधेश प्रदेश सरकारले सर्लाही, सिरहा र रौतहटमा पोषण पुनस्र्थापना गृह खोल्न लागेको जानकारी दिनुभयो। जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका निर्देशक डा. श्रवणकुमार मिश्रले बालबालिकालाई कुपोषित हुनबाट जोगाउनका लागि महिलालाई गर्भधारण गरेको अवस्थादेखि नै विशेष ध्यान दिनुपर्ने बताउनुभयो। गर्भवती महिलाको स्वास्थ्यमा विशेष हेरचाहका साथै पोषिलो खानेकुरा खान दिनुपर्ने, आइरन चक्की अनिवार्य खुवाउनुपर्ने र पटक पटक स्वास्थ्यको परीक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।कार्यक्रमको अध्यक्षता गर्नुभएका मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव झाले बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि आमाको स्वास्थ्य अवस्था, खानपान, अनिवार्य आइरन चक्कीको सेवन, गर्भ परीक्षण तथा बच्चाको जन्म भएपछि जति छिटो शिशुलाई स्तनपान गराउनेतर्फ ध्यान दिन आवश्यक भएको बताउनुभयो। उहाँले आमाको दूध नपिउने बच्चालाई विभिन्न खालका रोग लाग्न सक्ने भएकाले यस विषयमा अभिभावकलाई जानकारी गराउन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो। साभार : गोरखापत्र

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
2 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
3 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
3 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
3 दिन पहिले