
भारतमा आम चुनावअघि किन पक्राउ परे केजरीवाल ? मोदीले राजनीतिक षडयन्त्र रचेको आरोप
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,चैत ९ गते । भ्रष्टाचारको आरोपमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ परेसँगै भारतमा चर्को प्रतिक्रिया उत्पन्न भएको छ । भारतमा आमनिर्वाचन सुरु हुन केही साता मात्रै बाँकी रहँदा सरकारको यो कदमलाई विश्लेषकले राजनीतिक मानेका छन् ।
केजरीवाल भारतका चर्चित राजनीतिज्ञ हुनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचक हुन् । तेस्रो पटक प्रधानमन्त्रीको कुर्सी ताकिरहेका मोदीले केजरीवाललाई पक्राउ गरेर आफ्ना विरोधीहरुलाई कडा सन्देश दिन खोजेको विश्लेषण गरिएको छ । मोदी सरकारको अनुदार र अतिवादी छविलाई यो घटनाले अझै धेरै प्रस्फुटन गरेको विश्लेषण पश्चिमी मिडियाहरूले गरेका छन् । भारतीय मिडियाहरू भने सधैँजस्तो मोदीकै प्रतिरक्षामा उभिएका छन् ।
विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनेर चिनिने भारतको छवि मोदीको कार्यकालमा धुलिसात भएको आरोप छ । उनले देशभित्रका धार्मिक अल्पसंख्यक, खासगरी मुस्लिमहरूलाई निरन्तर दमन गर्दै आएका छन् । हिन्दू जनसंख्यामा भने उनको लोकप्रियता चुलिँदो छ ।
‘यसले पुष्टि हुन्छ कि आज इडी एउटा स्वतन्त्र अनुसन्धान एजेन्सीका रूपमा छैन,’ आपका नेता अतिशी सिंहले भनिन्, ‘यो विजेपीको राजनीतिक हतियारजस्तो बनेको छ ।’
विजेपीका वरिष्ठ नेता रवि शंकर प्रसादले भने केजरीवाल पक्राउ पर्नु स्वभाविक भएको बताए ।
उनले भने, ‘यो एउटा कानूनी प्रक्रिया हो जुन भ्रष्टाचार नियन्त्रणका लागि अति आवश्यक छ । कानूनलाई आफ्नो काम गर्न दिनुपर्छ ।’
भ्रष्टाचारविरोधी अभियान चलाएर नै नै राजनीतिमा उदाएको हो केजरीवालको आम आदमी पार्टी । सन् २०१५ को चुनावमा आपले दिल्लीमा बहुमत ल्याउँदै सरकार बनाएको थियो भने पाँच वर्षपछि दोस्रो कार्यकालका लागि चुनाव जित्यो । १५ वर्षपछि दिल्लीलाई कांग्रेसको हातबाट खोस्दै केजरीवाल, जो एक पूर्व कर आयुक्त थिए, मुख्यमन्त्री बनेका थिए । तल्लो तप्काका जनताका एजेन्डाहरू उठाएर राजनीतिमा लोकप्रियता कमाएका नेता हुन् उनी । उनको नेतृत्वको सरकारले भारतको राजधानी शहरमा खानेपानी, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको थियो ।
सानो पार्टी भए पनि सत्तारुढ भारतीय जनता पार्टीलाई लल्कार्न सक्ने एउटा प्रभावशाली राजनीतिक शक्तिका रूपमा आपले आफूलाई उभ्याएको थियो । केजरीवालले मोदीविरोधी नेताका रूपमा आफ्नो सशक्त छवि बनाइरहेका थिए । त्यसैले उनीप्रति प्रधानमन्त्री मोदीको व्यक्तिगत चिडचिडाहट थियो नै । आपले आउँदो आम निर्वाचनमा २६ वटा विपक्षी राजनीतिक दलको गठबन्धनबाट प्रतिस्पर्धा गर्दैछ ।
भारतको मुख्य प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसले विजेपीमाथि कर विभागलाई प्रयोग गरेर आफ्नो पार्टीको वित्तीय प्रणाली अवरुद्ध तुल्याएको आरोप लगाएको केही घण्टापछि नै केजरीवाल गिरफ्तार भए । कांग्रेसका अनुसार उनीहरूको बैंक खाता कर विभागले रोक्का गरेको दाबी गरेको छ, जसले गर्दा बैंकमा रहेको २ करोड डलरभन्दा बढी रकम प्रयोग गर्न सकिरहेको छैन ।
‘हामी आफ्नो अभियानका कामहरू गर्न सकिरहेका छैनौँ । आफ्ना कार्यकर्ता र उम्मेदवारलाई सहयोग गर्न असमर्थ भइरहेका छौँ । हाम्रा नेताहरू देशको एउटा कुनाबाट अर्को कुनामा जान सक्ने अवस्था छैन । हामी सञ्चारमाध्यममा विज्ञापन दिन सकिरहेका छैनौँ,’ कांग्रेसका नेता राहुल गान्धीले दिल्लीमा पत्रकार सम्मेलन गर्दै भनेका थिए ।
भारतका थुप्रै विपक्षी नेताहरूले केजरीवाल पक्राउको विरोध गरेका छन् । ‘एउटा त्रसित तानाशाह मृत प्रजातन्त्र सिर्जना गर्न चाहन्छ,’ गान्धीले एक्समा लेखेका छन् ।
साभार : नेपाल प्रेस

सञ्चारमाध्यम सञ्चालन नगर्न मधेश सरकारलाई पत्रकार महासं..
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारलाई सञ्चारमाध्यम सञ्चालन नगर्न अपिल गरेको छ ।पत्रकार ..
9 घन्टा पहिले
केपी ओलीको निर्देशनमै एमाले चल्छ, विद्या भण्डारी आउँदा उ..
जनकपुरधाम, असार २२ गते । नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याकले प..
10 घन्टा पहिले
प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त
काठमाडौं, आसर २१ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्..
2 दिन पहिले
राजर्षी जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध ..
जनकपुर, असार २१ : कंग्रेस नेता विमलेन्द्र निधिले राजर्षी जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका ..
2 दिन पहिले
स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज भए
काठमाडौं, असार २० : अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल शुक्रबार डिस्चार्ज छन्। स..
2 दिन पहिले